साउदीमा अलपत्र कामदारका आफन्त आक्रोशित

कार्तिक २४, २०७४-वैदेशिक रोजगार विभागले साउदी अरबमा अलपत्र चारजना कामदारलाई उद्धार गरी स्वदेश ल्याउन वैदेशिक रोजगार विभागको भूमिका प्रभावकारी नभएको भन्दै पीडितका आफन्त आक्रोशित भएका छन् । पीडितका परिवारले विभागका महानिर्देशक विश्वराज पाण्डेको कार्यकक्ष घेराउ गर्नुको साथै पाण्डेसँग आक्रोश व्यक्त गरे ।

पीडितका परिवार चार महिनादेखि विभागमा धाइरहेका छन् । ‘हामी चार महिनादेखि दिनहुँ विभागमा धाउँदा सधै हुन्छ मात्रै भनियो,’ पीडितका आफन्त चेतबहादुर थापाले भने, ‘हामी निकै मानसिक तनावबाट गुज्रियौं । अब तत्काल हाम्रो मान्छे चाहियो ।’ उनीहरुले विभागबाट आफूहरु थप पीडित हुनुपरेको वताए ।

‘हाम्रा मान्छेको अवस्था बुझ्न क्याम्पमा अहिलेसम्म दूतावास र म्यानपावरबाट कुनै प्रतिनिधि पुगेको छैन,’ उनले भने, ‘कम्पनीले पैसा नबुझाएसम्म नेपाल नपठाउने भनेर बसिरहेको छ । हाम्रा मान्छे भने नेपालीको जुठो भात खाएर बाँचिरहेका छन् ।’

उनीहरुलाई ललितपुर चाकुपाटस्थित एस इम्प्लोइमेन्ट व्युरो म्यानपावरले गत वैशाखमा साउदीको राजधानी रियादस्थित अब्दुल्लाह साउद विन मने इस्ट कन्ट्रक्सन तथा ट्रान्सपोटेसन कम्पनीमा चालक काममा पठाएको थियो । जसमा हरेराम थापा, पदम माझी, दिपबहादुर बल तामाङले करारपत्र अनुसार साउदीमा काम र तलब तथा सेवा–सुविधा नपाएको बताएका छन् । उनीहरुले काम समेत गरेका छैनन् ।

विभागका महानिर्देशक पाण्डेले पीडितलाई उद्धार गर्न विभाग इमानदारिताको साथ काम गरिरहेको बताए । ‘कामदारलाई समयमा नल्याएपछि विभागले म्यानपावरको काम गर्न नपाउने गरी रोक्का गरिदिएको छ’, पाण्डेले आफन्तहरुसमक्ष भने, ‘साउदीबाट मरेको मान्छे ल्याउन ६ महिना लाग्ने देश हो । एक्जिट नलगाएसम्म कसैले उद्धार गरेर ल्याउन सकिँदैन । हाम्रो तर्फबाट म्यानपावरलाई हदैसम्मको कारबाही गरिसकेका छौं ।’

म्यानपवारले पीडितलाई सोमबारसम्म नेपाल ल्याउने जानकारी दिएको छ । पीडित परिवारले भने  म्यानपावरले सुरुदेखि नै आफूहरुलाई झुक्काउने काम गर्दै आएकोले कसैबाट आशा लाग्ने काम नभएको बताए ।

Comments

Popular posts from this blog

मुढा बेचेर मनग्य आम्दानी

पहिरोले ट्रक र कार पुरियो, ३ को मृत्यु [अपडेट]

राष्ट्रिय पुस्तकालय बेहाल